• Wed. Oct 20th, 2021

१४६ निवर्तमान सांसदसहित गठबन्धननद्वारा रिट दायर, देउवालाई प्रधानमन्त्री बनाउन माग

ByJanga Tamang

May 24, 2021

काठमाडौं। १४६ जना निवर्तमान सांसदसहित विपक्षी गठबन्धनले सर्वोच्चमा रिट निवदेन दायर गरेको छ। रिटमार्फत गठबन्धनले जेठ ८ गते प्रधानमन्त्री र राष्ट्रपतिबाट भएको सबै कामकारवाहीलाई असंवैधानिक र गैरकानूनी घोषणा गर्न माग गरेको छ।

मन्त्रिपरिषद् र राष्ट्रपति कार्यालयले गरेका निर्णयहरू उत्प्रेषणको आदेशले बदर गरी प्रतिनिधिसभालाई पुनःस्थापना गर्न माग गरेको छ।

गठबन्धनले यसअघि वैकल्पिक सरकारको प्रधानमन्त्रीका लागि अघि सारेका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न पनि गठबन्धनले रिटमार्फत माग गरेको छ।

गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षधर र राष्ट्रिय जनमोर्चा रहेका छन्।

शुक्रबार मध्यरातमा संविधानको धारा ७६ को उपधारा ५ अनुसारको वैकल्पिक सरकार गठन हुने सम्भावना संसदमा नभएको भन्दै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनका लागि मन्त्रिपरिषद् बैठक राखेर सिफारिश गरेका थिए।

लगत्तै राष्ट्रपतिले विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन्। उक्त कदमलाई विपक्षी गठबन्धनले असंवैधानिक भएको टिप्पणी गरेको छ।

त्यसविरुद्ध राजनीतिक र कानूनी दुवै लडाइँ लड्ने उद्घोष पनि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *